६ श्रावण २०८१, आईतवार

अल्छी गरी जबरजस्ती अनलाइन चलाउनेले पत्रकारिताको विकल्प खोजे हुन्छ: काउन्सिल अध्यक्ष बस्नेत


काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ दर्ता/सूचीकरण भएका अनलाइनका सञ्चालक, सम्पादकहरूलाई शुक्रबार दिइएको अभिमुखीकरण कार्यक्रममा बोल्दै तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराउनुभएको छ । ‘अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेकाले अल्छी गरी जबरजस्ती अनलाइन चलाउनेहरुले पत्रकारिताको विकल्प खोज्नु राम्रो हुने अध्यक्ष बस्नेतले बताउनुभएको छ ।

अध्यक्ष बस्नेतले विभिन्न व्यवसाय गर्ने र त्यसलाई सजिलो पार्न अनलाइन समाचार माध्यम खोल्ने प्रवृत्तिको पनि कटाक्ष गर्नुभयो । ‘सञ्चार माध्यमको विशेषता र प्रकृति फरक छ । अरू उद्योगबाट हुने फाइदा, बेफाइदाको आँखाबाट सञ्चार उद्योगलाई हेरिनुहुँदैन । अरू कामलाइ सघाउन एउटा अनलाइन पनि दर्ता गराउन भनेर कोही आएको छ भने त्यो गलत हो । त्यस्ता अनलाइन टिक्न सक्दैनन्’ उहाँले भन्नुभयो । काउन्सिलले अनलाइन सूचीकरण प्रमाणपत्र प्रदान गर्नु अघि आचारसंहिता र पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा नियमित अभिमुखीकरण कार्यक्रम राख्ने गरेको छ ।

शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा देशभरबाट ४४ अनलाइनका सहभागीलाई अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विषयगत विज्ञकारूपमा कक्षा लिनुभएको थियो । प्रधानसम्पादक भण्डारीले अनलाइन सञ्चार माध्यमले अवसरसँगै चुनौति पनि थपेको भन्दै पत्रकारले आचारसंहिताको सीमाभित्र रहेर काम गरे सफल हुने बताउनुभयो । बुढाथोकीले काउन्सिलले जारी गरेका आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरुको महत्व र प्रभावकाररिताबारे प्रशिक्षण दिनुभएको थियो ।