३ श्रावण २०८१, बिहीबार

प्रधानमन्त्रीको निर्देशन पछि यात्री मोटरसाइकलले पाउने भयो नम्बर प्लेट


नेपालमा बनेका सवारी साधनको दर्ता गर्ने कानुन नभएका कारण लामो समय नम्बर प्लेट पाउन नसकेको स्वदेशी मोटरसाइकल ब्राण्ड यात्रीले अब नम्बर प्लेट पाउने भएको छ । सडकमा नम्बर प्लेट नराखेको बहानामा ट्राफिक प्रहरीले सवारी धनीलाई दुःख दिने गरेको गुनासाहरु आइरहेका थिए ।

यात्री लगायत सवारीसाधन दर्ता नभएको गुनासो आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई तत्काल दर्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । उनले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन मुख्य सचिवमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

‘यात्री लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्रीले आधिकारिक ट्वीटरमार्फत जानकारी गराएका छन् ।