७ श्रावण २०८१, सोमबार

परीक्षण उडान सफल भएपछि नियमित उडानको तयारीमा रेसुङ्गा विमानस्थल


काठमाडौ‌ं, नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा गरेको नाइन एन एबिटीको जहाज परीक्षण उडान सफल भएको छ।

क्याप्टेन मनेश विष्ट नेतृत्वको टोलीले जहाज उडाएको थियो । काठमाडौंबाट करिब ५० मिनेटको उडानपछि रेसुङ्गा विमानस्थलमा अवतरण गरिएको क्याप्टेन विष्टले जानकारी दिए।

यसअघि तारा एयरलाइसन्सले पनि सफल परीक्षण उडान गरेको थियो ।

परीक्षण उडान सफल भएसँगै निगमले अब रेसुङ्गा विमानस्थलमा नियमित उडान भर्नेछ र सातामा एउटा उडान भर्नेगरी निगमले सम्झौता गरेअनुसार अब प्रत्येक शुक्रबार निगमको जहाजले रेसुङ्गा विमानस्थलमा उडान भर्नेछ।

रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची (धुले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो। विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।

एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।