३ श्रावण २०८१, बिहीबार

भारत पुगेर मोदीसगँ सीमा विवादबारे छलफल गर्दै प्रचण्ड


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र  पुष्पकमल दाहाल ‘प्रचण्ड’  बीच नेपाल-भारत सीमा समस्याबारे छलफल भएको छ।

बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताए।

‘हामी हाम्रो सम्बन्ध हिमालयको उचाइमा पुर्‍याउनका लागि काम गरिरहनेछौं । यही भावनाका साथ सीमासम्बन्धी वा अन्य विषयहरूको पनि समाधान गर्छौं,’ सम्बोधनका क्रममा उनले भने।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पनि सीमा विवाद समाधानका विषयमा कुराकानी भएको बताए।

‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्‍यौं। मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखें,’ प्रधानमन्त्री प्रचण्डले भने।

नेपाल र भारतबीच लिपुलेक-लिम्पियाधुरा, सुस्तालगायत विभिन्न ठाउँमा सीमा विवाद छ।