४ श्रावण २०८१, शुक्रबार

दुबईमा ठगिएका नेपालीबारे रास्वपाले गरायो दुतावासलाई ध्यानाकर्षण


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली समन्वय समितिले दुवईको आबुधाबीस्थित नेपाली दुतावासमा ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दुतावासमा उक्त ध्यानाकर्षण पत्र बुझाउँदै दलाल र अद्यागमन विभागका कर्मचारीको मिलेमतोमा नेपालीहरुलाई ठग्ने गरिएको भन्दै तत्काल कारबाही गर्न माग गरिएको छ ।
प्रवास नेपाली समन्वय समितिका सभापति सुजन थापा लगायत समितिका पदाधिकारीहरुले विभिन्न ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै अलपत्र नेपालीलाई उद्दार गर्न र अवैध कार्यमा संलग्नलाई कानुनीलाई कारबाही गर्न माग गरेको हो ।
नेपालीहरुको बाक्लो संख्या रहेको दुबइमा नेपाली दुतावासको कुनै पनि कन्सुलर कार्यालय नहुँदा नेपालीलाई समस्या भएको भन्दै कार्यालय खोलिदिन अनुरोध समेत गरेको छ ।
रास्वपा प्रवास समन्वय समितिका प्रवक्ता बलभद्र सेन ओलिले धेरैजसो पिडितहरुले फोन गरेर दलाल हरुले पैसा खाइदिएको र अलपत्र पारेर छोडेको भन्दै गुनासो गर्ने गरेको जानकारी गराउँदै सरकारी तवरबाट पहल गर्न माग गरिएको बताउनुभयो । उहाँले रास्वपाका प्रतिनिधिले अलपत्र नेपालीको उद्दार सहयोगमा काम गरिरहेको बताउनुभयो ।