८ श्रावण २०८१, मंगलवार

चुच्चे नक्सा नसमेटेकोमा बालेनको असन्तुष्टि, बिरोध जनाउन चीन भ्रमण रद्द।


चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि तय गरिएको बालेनको बेइजिङतर्फको भ्रमण रद्द गरेका छन।

चिन तर्फको भ्रमण बिहीवार दिउँसो तय भएको थियो तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् ।

उनी लेख्छन “नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय  गरेको छु।”

नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।

१८१६ को सुगौली सन्धीअनुसार काली नदी र त्यस पूर्वको भूभाग नेपालको अभिन्न अंग भएपनि पछिल्लो समय नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो।

सोमबार चीनको २०२३ को स्टान्डर्ड नक्सा सार्वजनिक भएको थियो। यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ड्रइङ विधिको आधारमा बनाइएको हो ।

चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सालाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको थियो।

उक्त नक्सामा भारतको अरुणाचल प्रदेशलाई पनि समेटिएको भन्दै भारतमा बिरोध प्रदर्सन
भएको छ।

चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । चीनले बेला-बेलामा अरुणाचल प्रदेशका विभिन्न ठाउँलाई चिनियाँ नाम दिँदै पनि आएको छ । यही अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानाको नाम परिवर्तन गरेको थियो ।

चीनले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन आफ्नो भएको दाबी गर्दै आएको छ । भारतले भने चीनले पश्चिमी क्षेत्रमा करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा अवैधानिक रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ ।