५ श्रावण २०८१, शनिबार

एआईबाट यसरी बनाउनुहोस् फेसबुकमा भाइरल चिया र मम समातेको फोटो


काठमाडौँ । केही दिन यता सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा मानिसहरूले चिया पिइरहेको र मम समातेर कुदिरहेको तस्विरहरु निकै रुचाइएका छन् । सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणी हेर्ने हो भने केही प्रयोगकर्ताले ती फोटो वास्तविक हुन् भन्ने सोचिरहेका छन् । वास्तवमा फेसबुकका विभिन्न मिम पेजमा देखिएका ती तस्वीर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स टुलको सहायताले तयार पारिएको हो ।
त्यस्ता तस्विरहरु कसरी बनाउन सकिन्छ भन्ने जिज्ञाशा सबेको मनमा हुनसक्छ, त्यसैले आउनुहोस एआई टुलको प्रयोग गरेर कसरी त्यस्ता तस्वीर बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गरौ ।
तपाईं विन्डोज प्रयोगकर्ता हुनुहुन्छ भने एज ब्राउजरबाट सोझै यो टुल प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक अन्य ब्राउजर, एन्ड्रोइड तथा आईओएसबाट पनि यो टुल प्रयोग गर्न सकिन्छ ।
अन्य ब्राउजरमा प्रयोग गर्न https://www.bing.com/images/create क्लिक गरी माइक्रोसफ्ट अकाउन्टमार्फत साइनअप गर्नुपर्ने हुन्छ । त्यस्तै एन्ड्रोइडमा यो एप प्रयोग गर्न यो लिङ्क र आईओएसमा प्रयोग गर्नका लागि यो लिङ्क क्लिक गरेर इन्स्टल गर्नुहोस् ।

ब्राउजरमा यो लिङ्क सर्च गरिसकेपछि एउटा च्याटबक्स खुल्छ । सो च्याटबक्समा आफूले चाहेको तस्वीरलाई शब्दका रूपमा लेख्नुहोस् । त्यस शब्दलाई नै प्रम्प्ट भनिन्छ । तपाईंले जस्तो निर्देशन दिनुभयो बिङ एआईले त्यस्तै किसिमको तस्वीर तयार पारिदिन्छ ।
उदाहरणका लागि (Create an image of Nepali people enjoying a cup of tea.) यस्तो प्रम्प्ट दिनुभयो भने एआईले अहिले सामाजिक सञ्जालमा बढी देखिएको जस्तै तस्वीर बनाइदिन्छ । उक्त तस्वीरलाई बिना कुनै वाटरमार्क हाई क्वालिटीमा डाउनलोड गर्न सकिन्छ । यो टुलको सहायताले आफूले चाहे जतिका तस्वीर तयार पार्न सकिन्छ ।