५ श्रावण २०८१, शनिबार

‘अधुरा क्रान्ति’ उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा हो – महतो


पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ पुस्तकको विमोचन भएको छ । पुस्तकको विमोचन बुधबार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो । महतोले आफ्नो पुस्तकमा मधेशी जनताले भोग्नुपरेको जातीय विभेद तथा उत्पीडनलाई महत्त्वका साथ उल्लेख गरेका छन् ।

“मैले हालसम्म जे देखेँ, जे कुरा भोगेँ, ती सबै कुरालाई पुस्तकमा उतार्ने प्रयास गरेको छु । तसर्थ यो पुस्तक उत्पीडनमा परेका सम्पूर्ण मधेशी जनजाति, आदिवासी तथा दलितले पाएको पीडाको पुलिन्दा हो,” राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक समेत रहेका महतोले कार्यक्रममा सुनाए ।

सात सालदेखि हालसम्म विभिन्न खालका क्रान्ति भए पनि क्रान्तिले मुख्य लक्ष्य प्राप्त नगरेको उनको गुनासो थियो । उत्पीडित वर्गले न्यायका लागि लड्नुपर्ने अवस्था अझै पनि रहेकाले आफ्नो पुस्तकको नाम अधुरा क्रान्ति रोजेको उनले प्रष्ट पारे ।

नेपालको निर्माण हुँदा विभिन्न जाति र पहिचानलाई एक सूत्रमा मिलाइएकोमा हाल अप्राकृतिक ढंगबाट शासन भइरहेको विचार उनले राखे । “पृथ्वी नारायण शाहले नेपाल एकीकरणका क्रममा देश साझा फूलबारी भएको उल्लेख गरे । तर त्यसपछिका कुनै पनि शासकले नेपाललाई साझा फूलबारी बन्न दिएका छैनन्”, उनले आक्रोश पोखे । देश राणाकालमा जहानियाँ एकल फूलबारी, राजतन्त्रमा वंशीय फूलबारी र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म नश्लीय फूलबारी बनेको उनको टिप्पणी थियो ।

पुस्तकमा उनले नागरिकता विवाद, नाकाबन्दी, लगायत विभिन्न विषयमा समेत लेखेका छन् । कार्यक्रममा प्रमुख वक्ता रहेका सीके लालले सन् १९६० यता मधेशले थुप्रै उथलपुथल देखेको याद दिलाउँदै पुस्तकले सबै घटनाक्रमलाई समेट्ने प्रयास गरेको बताए ।

यस्तै पत्रकार तथा प्रकाशक कनकमणि दीक्षितले पुस्तकले नेपालको आधुनिक राजनीति बुझ्नका लागि मद्दत गर्ने बताए । पुस्तकले पहाडीहरूमा रहेको मधेशीप्रतिको पूर्वाग्रह तोड्ने र बहसका लागि ढोकाहरू खोल्ने उल्लेख गरे । नेपालका मिडियाहरूमा मधेशप्रति संकीर्ण र पूर्वाग्रही सोच देखिने गरेको तर उनीहरू सच्चिनका लागि प्रयासरत रहेको पनि दीक्षितले किटान गरे । हिमाल र अन्य प्राकृतिक श्रोत पहाडी र मधेशी दुवैको भएको जनाउँदै त्यसबाट आर्जन हुने अर्थ सबै नेपालीले पाउनुपर्ने धारण उनले राखे ।

नीति प्रतिष्ठानका पूर्व सदस्य डा. सोहन श्रेष्ठले मधेशप्रतिको भ्रम चिर्न पुस्तक सफल रहेको मत राखे । उनले काठमाडौँका बौद्धिक भनिने वर्गले महतोका बारेमा बनाएको धारणा वा चित्र फेर्न पनि पुस्तकले भूमिका खेल्ने आशा व्यक्त गरे । कार्यक्रममा अभियन्ता बुद्धछिरिङ मोक्तान, सुमन सायमी, पूर्व राजदूत महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. बालकृष्ण माबुहाङ, राष्ट्रिय मानवअधिकार आयोग सदस्य मोहना अन्सारी, लगायतको उपस्थिति रहेको थियो ।

पाइन प्रकाशनद्वारा प्रकाशित पुस्तक ३८२ पृष्ठको छ भने मूल्य ७७० रुपैयाँ तोकिएको छ  ।